पाल्पा।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दुर्गम ठाउँमा थप सेवा सुविधासहित जनशक्ति पठाउने तयारी भएको बताउनुभएको छ ।
पाल्पा उद्योग वाणिज्य संघको ६९ औं बार्षिक साधारणसभामा उहाँले सो कुरा बताउनुभएको हो । स्वास्थ्यमन्त्री खनालले दुर्गम ठाउँमा सेवा गर्न जाने डाक्टरलाई थप सेवा सुविधा दिनेगरी बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रत्यक्ष रुपमा प्रदेश अन्तर्गतका अस्पतालमार्फत मात्रै काम गर्नसक्ने भएकाले स्थानीय तहका स्वास्थ्य सस्थाको भूमिका बढी महत्वपूर्ण हुने बताउनुभयो । जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न प्रदेश सरकार लागेको बताउनुभयो ।
मन्त्री खनालले भन्नुभयो, “जनतालाई सहज रुपमा सेवा चाहिएको छ, त्यसका लागि प्रदेशअन्तर्गतका अस्पतालसँग स्थानीय तहमा रहेका अस्पतालहरुले पनि सहकार्यमा ध्यान दिनुपर्छ ।” खनालले विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि आँखाको नानी प्रत्यारोपण निःशुल्क गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खेम सारुले जनतालाई छिटो र छरितो रुपमा सर्वसुलभ सेवा दिनका लागि स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले पाल्पा जिल्ला पर्यटकीय हिसाबले पनि अगाडि भएकाले पाल्पालाई विकास गर्न पाल्पा उद्योग वाणिज्य संघ र स्थानीय तह, व्यवसायी एक भएर लाग्नुपर्ने बताउनुभयो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाली कांग्रेसका महासमिति सदस्य बिधान श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र विक, राप्रपा जिल्ला अध्यक्ष डुलबहादुर कुवर, जनमुक्ति पार्टिका नेता होमबहादुर थापा, जनमोर्चाका नेता नरमति सिंजाली लगायतले धारणा राख्नुभएको थियो । गोरखापत्र