काठमाडौं, असोज ३ : राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त भनाई राखेका हुन्। राष्ट्रपति पौडेलले आफ्ना कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन? भन्ने प्रश्न समेत गरेका छन्।
‘मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।
यस्तै राष्ट्रपति पौडेलले गणतन्त्र शासनमा व्यक्तिको परिवर्तन मात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार रहेको पनि बताए । गणतान्त्रि व्यवस्था संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै नभई आचरणमा परिवर्तन पनि भएको पौडेलको भनाई थियो।
गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको पनि पौडेलले बताए। वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको पनि राष्ट्रपसति पौडेलले बताए । संविधानले वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको समेत उनको भनाई थियो।
राष्ट्रपति पौडेलले व्यवस्था परिवर्तन भए पनि देश, समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकको पनि बताए। कार्यक्रममा उनले भने, ‘हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना ग¥यौ, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ।’