कपिलवस्तु ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ । कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालक, सर्वसाधरणलाई चेकिङ स्थलमा जम्मा गरी सवारी दुर्घटना सम्बन्धी प्रशिक्षण दिने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीका अनुसार जरिमाना मात्र गर्दा सवारी चालक सचेत नहुने भएकोले प्रशिक्षणको अभियान सुरु गरेको बताउनु भयो ।
पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र बजार क्षेत्र जोड्ने मुख्य मार्गमा चेकजाँच सँगै प्रशिक्षण भएको बताइएको छ । सवारी दुर्घटनाको जोखिम भएका स्थानमा स्थानीय विद्यार्थीलाई समेत जम्मा गरी सचेत गराइएको ट्राफिक प्रहरी नायव निरीक्षक राघव शिह राठौरले बताउनु भयो । अभियान अन्तर्गत सार्वजनिक बसमा यात्रा गर्ने यात्रु सँग सोधपुछ गर्ने, सवारी चालक, सहचालक यात्रुहरुलाई सवारी नियम तथा दुर्घटनाको जोखिम कम गर्ने उपायहरु जानकारी दिने कृष्णनगर ट्राफिकका प्रहरी सहायक निरीक्षक जित बहादुर बिसीले बताउनु भयो ।
चेकिङ स्थलमा १५ देखी २० जना जम्मा गरी भए पछि ५ देखी १० मिनेट सम्म प्रशिक्षण सहितको छलफल गर्दै आएको छ । जिल्लामा साउन र भदौ महिनामा ३ हजार ६ सय २५ जना सवारी चालकलाई प्रशिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आठ ओटा युनिट मार्फत ९१ पटक सवारी चेकजाँच स्थलमा प्रशिक्षण दिइएको थियो । सवारी चेकजाँच सँगै प्रशिक्षण दिँदा यात्रु तथा सवारी चालक सचेत हुने चन्द्रौटाका कृष्ण कार्कीले बताउनु भयो ।