काठमाडौं ।
चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग गरेअनुसारका सामग्रीमा मूल्य अभिवृद्धि कर (भ्याट)मा पूरै छुट र भन्सार एक प्रतिशत मात्र लिने व्यवस्था मिलाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन र सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
“नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साही गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको मागअनुसारको परिमाण सहमति प्राप्त नभएकोतर्फ समितिको ध्यानाकर्षण भएको छ । अतः चाडबाडका अवसरमा बजारको मागअनुसारको परिमाणमा उक्त मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र एक प्रतिशत भन्सार महुसल लिने गरी आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने,” निर्देशनमा भनिएको छ ।
चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि सहमति खोजेकोमा अर्थले २० हजार मेट्रिकटन चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट दिने सहमिति दिएको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।
अर्थले साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०÷१० हजार मट्रिकटन चिनी आयात गर्न सहमति दिएको थियो । यसअघि, चिनी आयातमा ३० प्रतिशत भन्सार लाग्ने गरेको थियो । यी दुई कम्पनीले आयात गर्ने २० हजार मेट्रिकटन चिनीमा भने १५ प्रतिशत भन्सार लाग्नेछ ।