काठमाण्डौ ।
भारतका स्टार ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् ।
एसिया कप क्रिकेटको ुसुपर फोरु मा पाकिस्तानसँगको खेलमा कोहलीले यो कीर्तिमान बनाएका हुन् । कोहलीले २ सय ६७ पारीमा १३ हजार रन पूरा गरेका हुन् । कोहलीले भारतकै पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारेका हुन् । सचिनले ३ सय २१ पारीमा १३ हजार रन बनाएका थिए । यस्तै अस्ट्रेलियाका पूर्वक्रिकेटर रिकी पोन्टिङले ३ सय ४१, श्रीलङ्काका पूर्वक्रिकेटर कुमार साङ्गाकाराले ३ सय ६३ र श्रीलङ्काकै पूर्वक्रिकेटर सनथ जयसूर्याले ४ सय १६ पारीमा १३ हजार रन पूरा गरेका थिए ।
यस्तै कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौँ स्थानमा उक्लिएका छन् । आजको खेलमा नटआउट १ सय २२ रन बनाएका कोहलीको एकदिवसीयमा १३ हजार २४ रन पुगेको छ ।एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउनेमा सचिन तेन्दुलकर छन् । सचिनले एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् । यस्तै कुमार साङ्गाकाराले १४ हजार २ सय ३४, रिकी पोन्टिङले १३ हजार ७ सय ४ र सनथ जयसूर्याले १३ हजार ४ सय ३० रन बनाएका छन् ।