काठमाण्डौ ।
नेपाली कांग्रेसले संस्थापक बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा आज आइतबार देखि तीन दिने बीपी साहित्य महोत्सव गर्दैछ । केन्द्रीय कार्यालय सानेपामा तीन दिन कांग्रेसले महोत्सव गर्न लागेको हो ।
आइतबार जगत नेपालको हाइज्याकिङ फर डेमोक्रेसी वृत्तचित्र प्रस्तुतिपछि कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नेछन् ।
सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको मूल तयारी समितिले तीन दिने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जसमा बीपीका राजनीति, कूटनीति, साहित्यसहितका विषयमा विभिन्न प्रस्तुति र छलफलका कार्यक्रम हुनेछन् ।
कांग्रेसले गर्न लागेको बीपी महोत्सव कार्यक्रममा डा. बाबुराम भट्टराई, एमालेका प्रदीप ज्ञवाली लगाएत वक्ताका रूपमा रहने भएका छन् । महोत्सवमा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कवि, इतिहासविद् अर्थशास्त्री, राजनीतिक विश्लेषक र पत्रकारहरूसमेत विभिन्न सेसनका कार्यक्रममा सहभागी हुने भएका छन् ।
पहिलो दिनको कार्यक्रममा ६ वटा सेसनहरू चल्नेछन् । बीपीको साहित्य सिर्जना र जीवन दर्शनको वक्ता अभि सुवेदी हुनेछन् । ‘बीपीका दृष्टिमा बीपी’ बहसमा सिकेलाल, कृष्ण खनाल र भुवन ढुंगाना वक्ता हुनेछन् ।
त्यस्तै आज अन्य कार्यक्रममा बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।