साझा डायरी, बाणगंगा ।
कपिलवस्तु पुर्व-पश्चिम राजमार्ग जोड्ने बनगाई डोहोटे सडकको कोइली खोलामा पक्की पुल बनेपछि भलवाडका बासिन्दामा खुसीयाली छाएको छ । वर्षा लाग्न सुरु गरेलगत्तै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका स्थानीय बासिन्दालाई सधैँ चिन्ताले सताइरहन्थ्यो ।
अहिले कोइली खोलामा पक्की पुल बनेपछि बाणगंगा नगरपालिकामा बर्सातको समयमा विकट भनेर चिनिने वडा नम्बर ९ भलवाडका जनतालाई समेत आवतजावत गर्न सहज भएको छ ।
५० मिटर लम्बाइ रहेको पुल लुम्बिनी प्रदेशको नौ करोडभन्दा बढी लागतमा सो पुल दुई वर्षमा सम्पन्न गर्ने जिम्मा सिद्धार्थ दर्शन हिमाल जेभी कन्स्ट्रक्सनले पाएको थियो । पुलको ठेक्का पाएपछि समयभन्दा अगाडि नै सम्पन्न गरेको जेभिका प्रोपाइटर यमलाल खनालले बताएका छन् ।