बुटवल ।
नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी गराए ।अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने कार्यक्रम तय भएको उनले बताए ।
उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पदमा अर्याल लगायत सहभागी हुने कँडेलले बताए ।
सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने उनले बताए ।
सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।
सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।
अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।
पत्रकार सम्मेलनमा एमाले सचिव पद्मा अर्यालले प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसके लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध नगरेको बताएकी छन् ।
प्रदेश इन्चार्ज समेत रहेकी उनले मुलुक संघीयतामा गइसकेपछि हुन लागेको प्रथम प्रदेश अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनको पहल गरिने बताइन् । तर सहमतिका नाममा पार्टीको शीर्ष नेतृत्वले लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध नगरेको उनले स्पष्ट पारिन् ।