बुटवल ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई सडकमा लिएर जाने तयारीमा थाल्न आग्रह गरेका छन् । विशाल शक्ति निर्माणका लागि मोर्चालाई सडकमा लगेर ठूलो जनमत तयार पारिने उल्लेख गरे ।
बुटवलमा मँगलबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै प्रचण्डले लडाई सुरु भैसकेको बताउँदै मोर्चालाई कमजोर नठान्न चेतावनी समेत दिएका छन् ।मोर्चालाई हर हालतमा बदनाम गर्ने, फुटाउने कमजोर बनाउने षड्यन्त्र भैरहेको बताउँदै उनले पूर्व माओवादीहरुलाई एक हुन आह्वान समेत गरे । मोर्चा घोषणाले मात्रै नपुग्ने बताउँदै उनले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भैरहेको उल्लेख गरे ।
‘हामीमाथि मुद्दा हाल्ने कोसिस भयो, सरकारमा गएको बेला मलाई नै २ वटा मुद्दा लगाउने काम भयो।’( प्रचण्डले भने, ‘हामी एकतावद्ध भएनौ भने स्थिती बडो गम्भीर आउन सक्छ ।’ समाजवादी मोर्चामा माओवादी आन्दोलनका सबै शक्तिहरु एक ठाउँमा आउने विश्वास व्यक्त गर्दै उनले ती शक्तिहरु एक ठाउँमा नआई सुख नहुने उल्लेख गरे ।
समाजवादी मोर्चामा हाल आवद्ध राजनीतिक शक्तिहरु केही सानो देखिएको स्वीकार गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतर्फ इंगीत गर्दै कमजोर नठान्न आग्रह गरे । ‘यसलाई कमजोर ठान्ने भूल कसैले नगरुन, यिनलाई हेपेर, कमजोर थानेर भूल नगर्दा हुन्छ ।’अध्यक्ष प्रचण्डले भने ।
मुलुकमा निषेध राजनीति निषेध भएर एउटा नयाँ सम्वादको सुरु भएको उल्लेख गर्दै उनले जनयुद्धका रुपमा भएका प्रयोग, जनताको बहुदलीय जनवादका रुपमा भएका प्रयोग तथा अन्य प्रयोगहरुलाई एकीकृत गरि नयाँ क्रान्तीको तयारीमा रहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले विगतका राजनीतिक आन्दोलनमा दोषी मानीए नेता कार्यकर्ताहरुलाई छुटाउनका लागि सरकारले बाटो खुलाउने तयारीमा रहेको बताउँदै त्यसले मोर्चालाई थप एकीकृत गर्ने दाबी गरे ।