काठमाण्डौ ।
प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । हिजो समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ ।
आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् ।सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ ।एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि चुनाव हुनेछ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज सभापति घोषणासँगै सपथ ग्रहणको काम पनि हुनेछ ।एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुई वटै प्रस्तावमाथि छलफल हुनेछ ।
त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।
यस्तै अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाउन लागेको हो ।