काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारीका लागि सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने भएका छन् ।सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधवार एमाले र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले पनि अधिवेशन अन्तय गरेर जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएका थिए । त्यतिबेला प्रतिपक्षमा कांग्रेस थियो । सो समयमा प्रमुख प्रतिपक्ष दलका नेता रहेका हालका मुख्यमन्त्री थापाले ‘हामीले पनि यसरी नै बजेट ल्याउने थियौँ’ भनेका थिए ।थापा नेतृत्वको सरकारविरुद्ध एमालले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।
