काठमाण्डौ ।
धादिङको गजुरी गाउँपालिका २ मा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री रिजालले बताएका छन् ।
त्रिशूली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी घाइते भएका १६ जनामध्ये ट्रमा सेन्टरमा नौजनालाई उपचारको लागि ल्याइएको हो । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक रिजालले जानकारी दिए ।
उनले भने, ‘गजुरीमा भएको दुर्घटनाका बिरामी हाम्रोमा नौजना आइपुग्नुभएको छ । त्यसमध्ये तीनजनाको अवस्था अलिकति सिकिस्त छ । त्योबाहेक अरू बिरामीको अवस्था स्टेबल नै छ ।’
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुलीनदीमा खसेको थियो ।