काठमाण्डौ ।
नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तोकेको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ । त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ गते बाग्मती प्रदेश, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार वडा र टोलमा ४० वर्षमुनिका कम्तीमा एक तिहाइ युवाहरू अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरू रहनुपर्नेछ ।
त्यस्तै बैठकले केन्द्रीय कमिटीको सदस्यको रूपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र बाग्मती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा ल्याउने निर्णय पनि पार्टीले गरेको छ ।