साझा डायरी,मुस्ताङ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ ।यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएका बताउनुभयो । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा जुटेको सिडिओ केसीले जानकारी दिए।विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ ।