काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।
‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन्।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।
हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली थिए। पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भई ५ को निधन र १ यात्रु वेपत्ता भएको घटनाप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन र परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।