कपिलवस्तु २२ असार । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या यो आर्थिक वर्ष ठूलो संख्यामा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४० हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभर झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो ।
नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ ।चालु आर्थिक वर्ष झन्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका हुन् ।वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् ।
श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए । उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८ सय ४५ जना गएको देखिन्छ । यसमध्ये युरोप जानेको सङ्ख्या धेरै छ । चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४ सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए । वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४ सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।असार महिनामा पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार चार सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् । पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ ।
यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै १ हजार ४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिए । उनका अनुसार गएको वैशाख महिनामा ९ सय ७४ र जेठ महिनामा ४ सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि १ हजार ३ सय ९६ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै गएको वैशाख र जेठ महिनामा ४ सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए ।