वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको आठौँ अधिवेशनबाट शोभबहादुर खासु अध्यक्षमा निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार वसन्त उपाध्याय र नेपाली कांग्रेसका उम्मेदवार मित्रलाल कँडेललाई पछि पार्दै खासु विजयी हुनुभएको हो।

अध्यक्ष पदमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको निर्वाचनमा खासुले आफ्नो प्यानलसहित विजय हासिल गर्दै सामुदायिक वनको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ। उहाँको प्यानलबाट उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित कार्य समितिका सदस्यहरू पनि निर्वाचित हुनुभएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिअनुसार उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा शान्ति गैरे भण्डारी, सहसचिवमा रेश्मा पन्थी कुँवर र कोषाध्यक्षमा धनमाया गैरे खनाल निर्वाचित हुनुभएको छ।त्यस्तै, कार्य समिति सदस्यहरूमा गोविन्द गिरी, मीना थापा, बलिराम थारु, शिवकुमारी थारु, शोमनाथ भण्डारी, मीना खड्का, बोमबहादुर झाक्री, गंगा सारु, खिमानन्द पौडेल र कल्पना गैरे निर्वाचित हुनुभएको छ।

यसैगरी, लेखा समितिको संयोजकमा जित बहादुर कँडेल निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा मधु बञ्जाडे र अनिता थारु चयन भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

निर्वाचनबाट निर्वाचित भए पछि नवनिर्वाचित अध्यक्ष खासुले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले निर्वाचनमा आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण उपभोक्ता, निर्वाचन मण्डल, शुभेच्छुक तथा सहयोगीहरू प्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्नुभएको छ।

अध्यक्ष खासुले भन्नुभयो, “आफनो टिमलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण उपभोक्ता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो विजय मेरो व्यक्तिगत मात्र नभई सम्पूर्ण उपभोक्ताको साझा जिम्मेवारी र विश्वास हो। सामुदायिक वनको हित, संरक्षण र दिगो विकासका लागि सबैलाई साथमा लिएर अगाडि बढ्नेछु।”

उहाँले वनको समग्र हितलाई केन्द्रमा राख्दै उपभोक्ताहरूबाट प्राप्त हुने सुझाव, सल्लाह र रचनात्मक सहयोगका आधारमा कार्यसमितिलाई अगाडि बढाउने बताउनुभयो। वनको संरक्षण, वन पैदावारको न्यायोचित उपयोग, पारदर्शी व्यवस्थापन तथा उपभोक्ताको अधिकार र हित संरक्षणमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

नयाँ नेतृत्व चयन सँगै नवप्रभात सामुदायिक वनको आगामी कार्यदिशा, वन संरक्षण, संस्थागत पारदर्शिता र उपभोक्ताको सहभागितालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। निर्वाचनबाट प्राप्त जनविश्वासलाई व्यवहारमा रूपान्तरण गर्दै सामुदायिक वनलाई संरक्षण, सुशासन र दिगो उपयोगको नमुना बनाउने चुनौती तथा अवसर अब नवनिर्वाचित कार्यसमितिको काँधमा आएको छ।