पशुपति गिरी, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सामुदायिक वनको आफ्नै भवन परिसरमा सम्पन्न सभामा वनको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका लागि वन व्यवस्थापन र विकासका योजनाबारे छलफल गरिएको थियो।

सभामा समूहका अध्यक्ष मुक्तबहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड १४ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित बजेटमार्फत अति विपन्न वन उपभोक्ता परिवारको गरिबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य शिविर र खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो।

कार्यक्रममा वनकी कोषाध्यक्ष लक्ष्मी थारुले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक ताराजन घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनको संरक्षण र सदुपयोगले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले मनकामना सामुदायिक वनले सञ्चालन गरेका कार्यक्रम तथा वन संरक्षण र विकासका क्षेत्रमा गरेका कामको प्रशंसा गर्नुभयो।

नगरप्रमुख अर्यालले सामुदायिक वनबाट प्राप्त हुने रकममध्ये प्रदेश सरकारलाई छुट्याउनुपर्ने २५ प्रतिशत मध्ये १० प्रतिशत रकम नगरपालिकामार्फत नै स्थानीय विकासमा खर्च गर्ने व्यवस्था भए विकासका कामलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले वनलाई जोगाउँदै त्यसबाट प्राप्त हुने स्रोतसाधनको उचित उपयोग गर्न सके विकासका थप सम्भावना खुल्ने उल्लेख गर्नुभयो।

सामुदायिक वनहरूले नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढे वन संरक्षणसँगै उपभोक्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने बताउँदै उहाँले नगरपालिकाका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत प्रभात सापकोटाले वनमा रहेका स्रोतसाधनको उचित सदुपयोग गर्न सके सामुदायिक वनले आर्थिक लाभसमेत दिन सक्ने बताउनुभयो। उहाँले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात कपिलवस्तुबाटै भएको उल्लेख गर्दै प्राकृतिक स्रोतसाधनको सही उपयोगमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष एवं नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले सामुदायिक वनको दिगो संरक्षण र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले वडा कार्यालयसँग समन्वय र सहकार्य गरी सामुदायिक वनको पूर्वाधार विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारणसभामा वैज्ञानिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष रेनु सेनले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा लागू भएपछि सामुदायिक वनमा वन व्यवस्थापनसँगै सामुदायिक विकासका गतिविधिसमेत अघि बढेको बताउनुभयो। उहाँले वनको दिगो व्यवस्थापनमार्फत उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख कालिका कार्की, वैज्ञानिक वन उपभोक्ता महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मी, केन्द्रीय सदस्य पदम अधिकारीलगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले मनकामना सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा सामुदायिक विकासका क्षेत्रमा गर्दै आएका कार्यको प्रशंसा गर्नुभएको थियो।

साधारणसभाका अवसरमा सामुदायिक वनको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा विभिन्न समूहलाई सम्मान गरिएको थियो। कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, वनका सल्लाहकार सदस्य तथा लेखा समिति र अनुगमन समितिका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वनका उपाध्यक्ष पुष्कर घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने वनकी सचिव गंगाकुमारी भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।