काठमाडौँ। गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ ।

बाढीले गोरखाका धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा व्यापक भौतिक, संरचनागत तथा आर्थिक क्षति पुर्‍याएको छ । दर्जनौँ घर, विद्यालय र महत्त्वपूर्ण पक्की पुलहरू बाढीको भेलमा बगेका छन् । स्थानीय जनप्रतिनिधि र प्रशासनले बिहान सबेरैदेखि माइकिङ गर्दै ‘अलर्ट’ गराएका कारण यति ठुलो विपद्मा पनि मानवीय क्षति भने टरेको छ ।

सर्वस्व गुमाएर रित्तो हात भागेका विस्थापितहरूको दैनिक जीवन भने अत्यन्तै कष्टकर बनेको छ ।विपद्को सुरुवात चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोबाट भएको थियो । पहिरोले थुनिएको स्यार खोला एक्कासि फुटेर बुढीगण्डकीमा मिसिएपछि तटीय क्षेत्रका बस्तीहरूमा पसेको थियो । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले वडा नम्बर ३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।