पशुपति गिरी, कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा रहेको लालमटिया सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ‘सामुदायिक वनमा, वैज्ञानिक वन व्यवस्थापन गरौँ’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभामा वनको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी वर्षका लागि वन व्यवस्थापन र विकासका योजनामाथि छलफल गरिएको छ।

लालमटिया सामुदायिक वन उपभोक्ता समूहको आफ्नै भवन परिसरमा सम्पन्न सभामा समूहका अध्यक्ष गिरधारी थारुले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित बजेटमार्फत अति विपन्न तथा गरिबी न्यूनीकरण, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष थारुले बताउनुभयो।सभामा वनका कोषाध्यक्ष एमबहादुर सिंजालीले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले सामान्य अवस्थाबाट सुरु भएको लालमटिया सामुदायिक वन अहिले उपभोक्ताको हकहित र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय काम गर्दै अघि बढेको बताउनुभयो। उहाँले हिजोको अवस्थाको तुलनामा आज सामुदायिक वन धेरै व्यवस्थित र प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो।

अध्यक्ष पौडेलले सामुदायिक वनले आफ्ना उपभोक्ताको आवश्यकता र चाहनाअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो। वनले उपभोक्तालाई रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नुका साथै सामुदायिक विद्यालयलाई सहयोगलगायतका सामाजिक कार्यमा समेत योगदान पुर्‍याउँदै आएको उहाँले बताउनुभयो।

उपभोक्ताको हितलाई केन्द्रमा राखेर वनले सञ्चालन गरेका कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले आगामी दिनमा पनि वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामुदायिक वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै वडा कार्यालयसँग समन्वय र सहकार्य गर्दै सामुदायिक वनको पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, पिपरा सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत दिनेश यादवले लालमटिया सामुदायिक वनले गर्दै आएका महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्दै वन संरक्षण तथा व्यवस्थापनमा उपभोक्ता समूहको भूमिकाको चर्चा गर्नुभयो।

कार्यक्रममा बाणगंगा नगरपालिका–२ का वडा सदस्य झिमलाल सापकोटा, पिपरा सब–डिभिजन वन कार्यालयअन्तर्गतका छिमेकी सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, वनका सल्लाहकार सदस्य, लेखा समिति तथा अनुगमन समितिका पदाधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वनकी उपाध्यक्ष सावित्री थारुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव विपना पौडेलले गर्नुभएको थियो।बाणगंगा नगरपालिका–२ मा रहेको लालमटिया सामुदायिक वन १ सय ९२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन उपभोक्ता समूहमा ३ सय ५७ घरधुरी आबद्ध रहेका छन्।