​युनिक भुसाल, कपिलवस्तु। महान चाडपर्व नजिकिँदै गर्दा परदेशको भूमिमा रहेका नेपालीहरूको व्यथा र दसैँमा घर फर्कन नपाउँदाको पीडालाई समेटेर कलाकार युनिष अधिकारीले नयाँ सांगीतिक कोसेली “कहाँ सुख छ र परदेश” सार्वजनिक गरेका छन्। रोजगारीको सिलसिलामा परदेशमा रहेर पनि नेपाली लोक तथा दोहोरी सङ्गीतमा निरन्तर सक्रिय अधिकारीले चाडपर्वको मुखमा परदेशीका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरेका हुन्। गीतमा वैदेशिक रोजगारीका कारण चाडबाडमा परिवारबाट टाढा हुनुपर्दाको कारुणिक व्यथा, गाउँघरको सम्झना र परदेशी जीवनको बाध्यतालाई छर्लङ्ग पारिएको छ।

​उक्त गीतमा युनिष अधिकारीको आफ्नै सङ्गीत (लय) रहेको छ भने कपिल पन्थीका शब्द सिर्जना रहेका छन्। गीतमा गायक गणेश अधिकारी र गायिका अन्जिता विश्वकर्माले स्वर दिएका छन्।राजेश भण्डारीको कथा तथा निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा स्वयं युनिष अधिकारीका साथै रितु अधिकारी, माइला बा र दिनेश पुरीको जीवन्त अभिनय देख्न सकिन्छ।

​परदेशको व्यस्तताका बीच पनि निरन्तर नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा लागिपरेका अधिकारीले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू बजारमा ल्याइसकेका छन्। चाडपर्वको अवसर पारेर सार्वजनिक गरिएको यस गीतलाई सम्पूर्ण दर्शक तथा श्रोताहरूले माया र हौसला दिनेमा उनी आशावादी छन्।