वाणगंगा । वाणगंगा नगरपालिका–२ स्थित वडा स्तरीय युवा क्लबले श्री बालज्योति आधारभूत विद्यालयमा चित्रकला शिक्षण कार्यक्रम आयोजना गरेको छ।यही असोज १५ गते आयोजित कार्यक्रममा विद्यालयभित्र रहेका विभिन्न समस्या तथा आवश्यकताका विषयमा छलफल गर्नुका साथै विद्यालयमा उपस्थितविद्यार्थीहरूलाई चित्रकला सम्बन्धी प्रशिक्षण दिइएको थियो।

वडा स्तरीय युवा क्लबका अध्यक्ष विमल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद चौधरी प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता थारु विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयका शिक्षक तथा युवा क्लबका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका ५५ जना विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई चित्रकला सम्बन्धी प्रशिक्षण क्लबका सचिव सुशाङ्क कार्कीले प्रदान गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक महेन्द्र भण्डारीले गर्नुभएको थियो। युवा क्लबले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकाससँगै विद्यालयका समस्या तथा आवश्यकताका विषयमा समेत छलफल गरी आगामी दिनमा आवश्यक सहयोग र सहकार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।