​अर्घाखाँची। अस्पतालबाट शव लिएर घरतर्फ जाँदै गरेको गाडी हिलाम्मे र जीर्ण सडकका कारण बाटोमै फसेपछि अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १४ करेचुलीका स्थानीय बासिन्दा आक्रोषित बनेका छन्।

​जीवित छँदा उपचारका लागि समयमा एम्बुलेन्स नपाउने र मृत्यु पश्चात् पनि अन्तिम संस्कारका लागि शव लैजाने बाटो नहुँदा स्थानीयले सरकार र जनप्रतिनिधिमाथि गम्भीर प्रश्न उठाएका छन्। बर्खायाम सुरु भएसँगै करेचुली जोडिने सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ। सडकको बिजोग अवस्थाका कारण सवारी साधन सञ्चालन हुनै नसक्ने स्थिति बनेपछि स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्दै आएका छन्।

​”विकासका ठूला-ठूला नारा लगाइन्छ, तर गाउँमा मान्छे बिरामी पर्दा अस्पताल लैजाने बाटोसम्म छैन,” एक स्थानीयले आक्रोश पोख्दै भने, “मृत्यु भएपछि सद्गतका लागि शव बोकेको गाडी समेत बाटोमै फस्नु भनेको जनताको आँसु र पीडाको उपहास हो।”

​स्थानीय बासिन्दाहरूले शीतगंगा नगरपालिका, वडा कार्यालय र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सो सडक मर्मत र स्तरोन्नति गर्न माग गरेका छन्। उनीहरूले सडकमा तत्काल सोलिङ र ग्राभेल गरी गाडी चलाउन योग्य बनाउन तथा दीर्घकालीन समाधानका लागि पक्की सडक निर्माण गर्न जोड दिएका छन्।

​आकस्मिक स्वास्थ्य सेवा र यातायात जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित हुनुपरेको भन्दै स्थानीयले जनप्रतिनिधिहरूलाई चुनावी प्रतिबद्धता सम्झिन र तत्काल सडक सुधारको काम अघि बढाउन चेतावनी दिएका छन्।