कपिलवस्तु । बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित श्री पिपरा कोठी महिला सेवा सामुदायिक वनले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

सामुदायिक वनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत ‘दैवी प्रकोप’ शीर्षकमा विनियोजित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सामुदायिक वनले विपत्तिको समयमा आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

सामुदायिक वनका अध्यक्ष भीमसेन कार्कीले विपद्को समयमा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउँदै अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।

उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम सहयोग गरिएको बताए।सामुदायिक वनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा अन्य सामाजिक कार्यमा सहयोग गर्दै जाने जनाएको छ।