कपिलवस्तु । कपिलवस्तु युवा भजन समूहले विभिन्न धार्मिक तथा सामाजिक कार्यबाट प्राप्त सहयोग रकममध्ये केही रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।

समूहले विगत केही महिनादेखि जिल्लाका विभिन्न मठ–मन्दिर तथा धार्मिक स्थलहरूमा पुगेर भजन–कीर्तन गर्दै आएको थियो। सो क्रममा विभिन्न स्थानबाट माया, सद्भाव तथा प्रोत्साहनस्वरूप प्राप्त भएको दान तथा सहयोग रकममध्ये केही रकम देशमा भइरहेको प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै राहत कोषमा प्रदान गरिएको समूहले जनाएको छ।

विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा सानो भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समूहको भनाइ छ। साथै, समूहले आगामी दिनमा पनि धार्मिकसँगै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

समूहले आफ्नो अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण कपिलवस्तुवासीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।