कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ भेलाईमा अवस्थित श्री जयवनशक्ति सामुदायिक वनले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि रु. ५१ हजार सहयोग गरेको छ।

सामुदायिक वनले वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष आयोजना गर्ने तीजको दरखाने कार्यक्रम, शुभकामना आदान–प्रदान, प्रतियोगिता, भ्रमण तथा अन्य कार्यक्रमहरूको खर्च कटौती गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सामुदायिक वनले देश विपत्तिमा रहेका बेला आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

सामुदायिक वनका अध्यक्ष जितबहादुर जिसी (जीवन) ले विपत्तिको समयमा संस्थाले सक्दो सहयोग गरेको बताउँदै अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत कोषमा रकम जम्मा गरेको जनाएको छ।