बुटवल — लुम्बिनी प्रदेश सरकारले भोटेकोशी बाढीबाट ज्यान गुमाएका लुम्बिनी प्रदेशभित्र स्थायी बासोबास रहेका मृतकका परिवारलाई प्रति व्यक्ति एक लाख राहत दिने भएको छ । त्यस्तै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रका मृतकका परिवारलाई राहत र प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले सरकारले सोमबार नै ३ करोड रुपैंयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए । त्यस्तै लुम्बिनी प्रदेशमा स्थायी बासोबास भएका र रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई प्रति व्यक्ति १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय भएको पनि उनले बताए । ‘त्यसका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरेर कागजपत्र पेश गर्नेछन्,’ उनले भने, ‘प्रदेश सरकारले पनि विपद् व्यवस्थापन राहत कोषबाटै रकम प्रदान गर्नेछ ।’ हालसम्म लुम्बिनी प्रदेशमा स्थायी बसोबास भएका ५ जनाको मृत्यु भएको जानकारी आए पनि आधिकारिक विवरण प्राप्त नभएको उनले बताए । भोटेकोशी नदीमा आएको बाढीले हालसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १ सय ५७ जना सम्पर्कविहीन छन् ।