बाणगंगा । “Glaxy Cricket Cup 2083” अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक टोली Galaxy Youth Club ले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको आयोजक टोलीले सुरुदेखिनै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै वडा नं. ११ लाई मात्र ८८ रनमा समेट्न सफल भयो। Galaxy Youth Club का बलरहरूले अनुशासित र आक्रामक खेल प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राखेका थिए।

८८ रनको सामान्य लक्ष्य पछ्याएको आयोजक टोलीले आक्रामक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पारेको हो। केही विकेट गुमाए पनि Galaxy Youth Club ले ६ विकेटको क्षतिमा मात्र १०.२ ओभरमै लक्ष्य पूरा गर्दै शानदार जित दर्ता गर्‍यो।

खेलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका राज सुनार “म्यान अफ द म्याच” घोषित भए। उनले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण योगदान दिँदै टोलीको जितमा निर्णायक भूमिका खेलेका थिए।

यस जितसँगै आयोजक टोली Galaxy Youth Club ले आगामी शनिवार हुने फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ। टोलीको उत्कृष्ट प्रदर्शनपछि समर्थक तथा दर्शकमाझ अहिले व्यापक चर्चा भइरहेको छ भने फाइनल खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।