बाणगंगा । आगामी फागुन १९ गते मनाइने होली पर्व तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ११ बुँदे निर्णय सार्वजनिक गरेको छ।

सर्वदलीयरसर्वपक्षीय बैठकबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न विभिन्न निर्णयहरू गरिएको जनाइएको छ।

प्रशासनले फागुन १८ गतेदेखि २१ गतेसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको छ। निर्वाचनको मौन अवधिलाई लक्षित गर्दै मदिरा सेवनबाट उत्पन्न हुन सक्ने असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न उक्त निर्णय गरिएको हो।

त्यस्तै, निर्वाचन आचारसंहिता २०७९ को पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। मौन अवधिमा कुनै पनि प्रकारका प्रचार–प्रसारजन्य गतिविधि नगर्न, सामाजिक सञ्जालमार्फत उत्तेजक वा भ्रामक सामग्री प्रकाशन–प्रसारण नगर्न समेत निर्देशन दिइएको छ।