काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चारमध्ये एक खेल जितेको छ भने कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक विजयी नतिजा निकालेको छ । लुम्बिनी अंक तालिकामा सातौँ र पोखरा छैटौँ स्थानमा छन् । प्लेअफको आशा कायम राख्न दुवै टोलीका लागि आजको खेल अनिवार्य जित्नुपर्ने छ ।

यसैगरी, अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमसँग सामना गर्नेछ । तीन खेल खेलेर पनि अंकविहीन रहेको जनकपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले आजको खेल जित्न नसके प्लेअफ दौडबाट बाहिरिने सम्भावना कायमै छ । यता, अपराजित सुदूरपश्चिम चारवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आजको जितसँगै सुदूरपश्चिम प्लेअफमा स्थान पक्का गर्न चाहन्छ । साथै, गत संस्करणको फाइनलमा जनकपुरसँग भोगेको हारको बदला लिन पनि सुदूरपश्चिम मैदान उत्रिनेछ ।

यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।