२२ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

आलम केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखी उपचार गराइरहेका थिए । अस्पतालका व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो । सुरुदेखि नै उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो । अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।

गत जेठमा नक्खु कारागारबाट रिहा भएलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनी थप उपचारका लागि भारत गएका थिए । चिकित्सकहरूका अनुसार ब्रेन स्ट्रोकपछि देखिने दीर्घकालीन असरका कारण उनको मृत्यु भएको हो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति, २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । उक्त घटनामा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा आलममाथि मुद्दा दायर भएको थियो । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर, पछि उच्च अदालतले सो फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए । त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।