काठमाडौँ ।

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत आज (शनिबार) नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

दुबईस्थित आईसीसीए मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

अंक तालिकामा स्थिति सुधार गर्न नेपालका लागि आजको खेल नै अत्यन्त महत्त्वपूर्ण मानिएको छ । हालसम्म २२ खेल खेलेको अमेरिकाले १६ जित र ६ हारसहित ३२ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ । अमेरिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ ।

नेपालको प्रदर्शन भने केही उतारचढावपूर्ण रहँदै आएको छ । पछिल्ला पाँच खेलमध्ये नेपालले दुईमा जित हात पारेको छ भने तीन खेलमा पराजित भएको छ । आजको खेल नेपालका लागि चुनौतीपूर्ण देखिए पनि टिम आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ ।