काठमाडौं

यमपञ्चकको दोस्रो दिन आज देशभर कुकुर तिहार, अर्थात् कुकुर पूजा श्रद्धा र सम्मानपूर्वक मनाइँदैछ । नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला लगाइ मीठा खानेकुरा अर्पण गरी पूजाआजा गरिरहेका छन् ।

वैदिक परम्परा अनुसार कुकुरलाई यमराजका दूत तथा धर्मराजका द्वारपालका रूपमा मानिन्छ । धार्मिक विश्वास अनुसार आज कुकुरको पूजा नगरी भोजन गरेमा पाप लाग्छ ।

पुराण अनुसार यमलोकको ढोका रक्षण गर्ने कुकुरलाई सम्मान गर्दा मृत्युपश्चात् आत्माले स्वर्गको मार्ग सहजै प्राप्त गर्ने विश्वास रहिआएको छ । द्वापर युगमा धर्मराज युधिष्ठिरलाई स्वर्गारोहणको क्रममा एक वफादार कुकुरले अन्तिमसम्म साथ दिएको प्रसङ्ग महाभारतमा उल्लेख छ, जसले कुकुरको निष्ठा र पवित्रतालाई जनाउँछ ।

ऋग्वेदमा ‘समरा’ नामकी एक कुकुर आमाको कथा उल्लेख गरिएको छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् । वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजका सन्देशवाहकका रूपमा सम्मान गरिन्छ । धार्मिक ग्रन्थहरूमा मृत्युपश्चात् आत्मा मोक्षद्वारमा पुग्दा समेत कुकुरले पहरा दिने विश्वास पाइन्छ ।

कुकुरलाई आज्ञाकारी, वफादार र घरको पहरेदार जनावर मानिन्छ । अपराध पत्ता लगाउने, भूकम्प वा अन्य प्राकृतिक विपत्तिको संकेत पहिल्यै दिने क्षमताका कारण कुकुरलाई ‘भैरवको वाहन’ पनि भनिन्छ ।

सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा साथ दिने सौभाग्य पाएको कुकुरप्रति सम्मानस्वरूप हरेक वर्ष तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ ।

यही दिन नरक चतुर्दशी पनि परेको छ । धार्मिक विश्वास अनुसार आज बिहान उज्यालो हुनुअघि तिलको तेल, चन्दन र सुगन्धित जल प्रयोग गरी स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुन्छ । शास्त्रमा तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भनिएकाले यस्ता स्नानले पाप नाश हुन्छ भन्ने मान्यता रहिआएको छ ।

स्नानअघि अपमार्ग वनस्पति जलमा डुबाएर टाउकोमा घुमाउने चलन छ, जसक्रममा “मेरा सबै पाप हटून्” भन्ने भावनाका साथ मन्त्र उच्चारण गरिन्छ । स्नानपछि दक्षिण दिशातर्फ फर्किएर यमराजका चौध नाम उच्चारण गर्दै तिलयुक्त जलद्वारा तर्पण गरिन्छ । यसरी तर्पण गरे वर्षौंदेखिका पाप नष्ट हुने विश्वास गरिन्छ ।

आजको दिन मासको पातको साग खाने परम्परा छ, जसले पाप हटाउँछ भन्ने जनश्रुति छ । साथै ‘नर्के नुहाउने’ अर्थात् शुद्धीकरणको स्नान, दीप दान गर्ने, आलसको बोट बालेर आगो ताप्ने परम्परा समेत रहेको छ । यस्ता धार्मिक कर्मबाट आत्मा शुद्ध भई स्वर्ग प्राप्त हुने विश्वास गरिन्छ ।