काठमाडौँ ।

सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ ।

दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार सम्पन्न सुपर सिक्स चरणको अन्तिम खेलमा सामोयामाथि १२४ रनको फराकिलो जित निकाली उपाधि जितेको हो ।

यससँगै नेपालले अपराजित रहँदै टी–२० विश्वकपमा स्थान पक्का गरेको छ । नेपालले दिएको २ सय ११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा ८७ रनमै सीमित भयो ।

नेपालका लागि ललित राजवंशीले शानदार प्रदर्शन गर्दै ३ विकेट लिए । उनले १ ओभर मेडन राख्दै जम्मा १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान १–१ विकेट लिए ।

सामोयाका लागि सियन सोलियाले सर्वाधिक ४० रन बनाए भने बेन्जामिन माइलताले ११ रन जोडे । अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको सामोयाविरुद्ध नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको थियो ।

नेपालका ओपनर आशिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए ।

दीपेन्द्र सिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए । लोकेश बम ३९ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले पनि २१ रनको अविजित योगदान दिए । कुशल भुर्तेल १७ रनमा बोल्ड भए । आरिफ शेखले ९ रन बनाए ।

यस छनोटबाट नेपालसँगै ओमान र युएईले पनि टी–२० विश्वकप २०२६ का लागि स्थान सुरक्षित गरेका छन् ।

कतार, जापान र सामोया भने छनोट चरणबाट बाहिरिएका छन् । सुपर सिक्सको सबै खेलमा पराजित हुने सामोया एक मात्र टोली रह्यो ।

छनोट चरणमा नेपालले ५ वटै खेल जित्दै १० अंकसहित शीर्ष स्थान हासिल गर्‍यो । ओमान ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रह्यो भने युएई ६ अंकसहित तेस्रो स्थानमा रह्यो ।

आजै सम्पन्न सुपर सिक्सको पहिलो खेलमा ओमानले जापानलाई ९ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।