१२ असोज, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई २१ दिने अल्टिमेटम दिएको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन अनुरोध गर्दै सम्बन्धित उद्योगीहरूलाई अन्तिम चेतावनी दिएको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल तिर्न बाँकी रहेका ग्राहकले तोकिएको म्यादभित्र बक्यौता भुक्तानी गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

यसअघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ सालको जेठसम्म निवेदन दिन सकिने व्यवस्था गरिएको थियो । सोही सन्दर्भमा २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित गरिए तापनि, प्राधिकरण सञ्चालक समितिको १० असोजको बैठकले उक्त म्याद कायम गर्ने निर्णय गर्दै प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कार्य कारबाही बन्द गर्ने निर्णय गरेको हो । त्यसैले अब उद्योगीहरूले पूर्वनिर्धारित शुल्क अनुसार नै बक्यौता बुझाउनु पर्नेछ ।

प्राधिकरणका अनुसार, पछिल्लो पटक २०७८ कात्तिक २९ गते गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा तयार पारिएको बिलअनुसार बक्यौता तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यदि उद्योगीहरू बक्यौता एकमुष्ट तिर्न नसक्ने अवस्थामा छन् भने, प्राधिकरणले २८ किस्तासम्मको सुविधा उपलब्ध गराउने जनाएको छ । तर, तोकिएको समयावधिभित्र बक्यौता बुझाउन नसकेमा प्राधिकरणले प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।