काठमाडौँ ।

हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशसहितका अन्य पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सो क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।