पोखरा । 

पोखरा महानगरपालिका  २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ ।दृष्टिविहीनका समूह देउसी खेल्न निस्कँदा उनीहरु बस्ने आश्रममा आगलागी भएको छ ।

आश्रम सञ्चालक सुशील गोदारका अनुसार उनीहरु देउसीभैलो खेल्न निस्केका बेला बुधबार राति आगलागी भएको हो । आगलागीबाट नगद ८ लाखसहित ३० लाख बराबरको क्षति भएको छ । पाँच कोठे घरसमेत जलेर ध्वस्त भएकाले कूल क्षति ७५ लाख रहेको दाबी गरिउको छ ।

एक लाख नगद आधा जलेको अवस्थामा फेला परेको छ । अपांगता मैत्री समाजले मासिक १५ हजार तिरेर भाडामा लिएका कोठाहरु पूर्ण रुपमा जलेका छन् । दृष्टिविहीनहरुले बजारमा बेच्ने गरेका सामाग्रीहरु, लत्ताकपडा पनि पूर्ण रुपमा जलेका छन् ।

उनका अनुसार आश्रममा ३० जना बस्दै आएका थिए । तर, चाडबाडका कारण घर गएकाले १० जना मात्रै थिए ।उनीहरुले घरघर डुलेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेच्ने गर्दथे । यसरी जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारको दाबी छ ।

सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको गुनासो गरेका छन् । देशका विभिन्न स्थानबाट पोखरा आइ त्यहाँ आश्रय लिएका र उद्यमका काम गर्ने उनीहरु आश्रम नै जलेपछि विजोक अवस्थामा छन्