पशुपति गिरी,कपिलवस्तु । ‘स्वविवेकले लिनुहोस्, स्वविवेकले दिनुहोस्’ भन्ने मूल नारासहित कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँमा ‘द थ्रिफ्ट सफ’ नामक कपडा बैंकको कार्यालय तथा कपडा सङ्कलन–वितरण केन्द्र उद्घाटन गरिएको छ।

प्रयोगमा नआएका तर प्रयोग गर्न मिल्ने राम्रा कपडाहरू सङ्कलन गरी आवश्यक परेका तथा विपन्न नागरिकसम्म निःशुल्क पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कपडा बैंकको केन्द्रको उद्घाटन बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अर्यालले प्रयोगमा नआएका कपडालाई पुनः प्रयोगमा ल्याउँदै आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक सेवाको भावनासहित अभियानमा संलग्न सम्पूर्ण अभियन्ता तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

कपिलवस्तुमा पहिलो तथा लुम्बिनी प्रदेशमा दोस्रो शाखाका रूपमा स्थापित यस केन्द्रले बाणगंगा नगरपालिका र आसपासका क्षेत्रका लक्षित वर्गलाई प्रत्यक्ष सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै कपडा सङ्कलन तथा वितरणको व्यवस्था भएपछि आवश्यक परेका नागरिकलाई सहज रूपमा सहयोग उपलब्ध गराउन सकिने विश्वास लिइएको छ। यस केन्द्रको स्थापनाले पुनः प्रयोगयोग्य कपडाको सदुपयोग गर्दै सामाजिक सहयोग र मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

महानायक राजेश हमालको संरक्षकत्व तथा नेतृत्वबाट प्रेरित यस सामाजिक अभियानलाई देशभर विस्तार गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ। अभियानले प्रयोगमा नआएका कपडालाई आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउँदै स्रोतको सदुपयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ।

कपडा बैंकका केन्द्रीय सल्लाहकार तथा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति तथा उद्योग वाणिज्य संघ कपिलवस्तुका पूर्वअध्यक्ष विष्णु न्यौपानेले अभियानको सामाजिक महत्त्वबारे चर्चा गर्नुभएको थियो। उहाँले यस्ता सामाजिक कार्यले विपन्न तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुग्नुका साथै समाजमा सहयोग र सहकार्यको भावना बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उद्योग वाणिज्य संघ कपिलवस्तुका पूर्वअध्यक्षहरू उमनाथ पौडेल र डोलकराम घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कपडा बैंकको अभियानमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

कार्यक्रममा उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल, बाणगंगा नगरपालिका–८ का वडा सदस्य शैलेन्द्र बेल्वासे, वडास्तरीय युवा क्लबका अध्यक्ष विमल घिमिरेलगायतको आतिथ्यता रहेको थियो। वडा सदस्य शैलेन्द्र बेल्वासेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पशुपति गिरीले गर्नुभएको थियो।

कपडा बैंकको कार्यालय तथा सङ्कलन–वितरण केन्द्र स्थापनाका लागि सहयोग गर्ने स्थानीय वडा कार्यालय, अभियानमा संलग्न अभियन्ता, सहयोगी संस्था तथा सम्पूर्ण सहयोगदाताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।