कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–१, बैरिया स्थित मायादेवी रिसोर्टबाट ई–ड्राइभ लुम्बिनीको विद्युतीय सवारी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत जिल्लाका सर्वसाधारणलाई सहज, सुरक्षित, भरपर्दो तथा व्यवस्थित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो।

सेवा शुभारम्भसँगै जिल्लामा हाल प्रारम्भिक चरणमा ५ वटा विद्युतीय सवारी सञ्चालनमा ल्याइएको ई–ड्राइभ लुम्बिनीका अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो। जिल्लाका आम सेवाग्राहीलाई लक्षित गरी सेवा विस्तार गर्ने योजना रहेको बताउँदै उहाँले आगामी दिनमा थप विद्युतीय सवारी जिल्लामा भित्र्याइने जानकारी दिनुभयो।

अध्यक्ष पौडेलका अनुसार यात्रुले मोबाइल तथा अनलाइन प्रविधिको माध्यमबाट आफूलाई आवश्यक पर्ने सवारी साधन सहज रूपमा बुकिङ गर्न सक्नेछन्। यसले यात्रुलाई सवारी खोज्न तथा चालकसँग सम्पर्क गर्नुपर्ने परम्परागत झन्झट कम गर्नुका साथै समयको बचत, सेवा पारदर्शिता र व्यवस्थित यातायात व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिकामा आधुनिक प्रविधिको प्रयोगसँगै नयाँ प्रकारको यातायात सेवा थप हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले ई–ड्राइभको सेवा वाणगंगा नगरपालिकामा मात्र सीमित नभई समग्र कपिलवस्तु जिल्लाका नागरिकलाई लक्षित भएकाले सेवाको गुणस्तर र व्यवस्थापनमा विशेष ध्यान दिन सञ्चालक पक्षलाई आग्रह गर्नुभयो।

नगरप्रमुख अर्यालले युवाको सक्रियतामा सुरु भएको नयाँ सेवाले रोजगारी सिर्जना तथा आधुनिक यातायात प्रणालीको विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै १० जना युवाको टिमलाई एकताबद्ध भएर व्यवस्थित रूपमा सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले ई–ड्राइभ लुम्बिनीको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।

पछिल्लो समय विद्युतीय सवारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा कपिलवस्तुमा डिजिटल प्रविधिसहित ई–मोबिलिटी सेवा सुरु हुनुलाई यातायात क्षेत्रको नयाँ सुरुवातका रूपमा हेरिएको छ। यात्रुलाई सहज र भरपर्दो सेवा प्रदान गर्दै जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने लक्ष्यले स्थानीय यातायात सेवामा नयाँ विकल्प थपिएको छ।

ई–ड्राइभ लुम्बिनीले यात्रु र चालकबीचको दूरी घटाउँदै प्रविधिमैत्री, पारदर्शी र जिम्मेवार यातायात संस्कार विकास गर्ने लक्ष्य लिएको जनाएको छ। प्रारम्भिक चरणमा पाँचवटा सवारीबाट सुरु भएको सेवा आगामी दिनमा थप सवारीसहित जिल्लाका विभिन्न क्षेत्रमा विस्तार हुँदै जाने अध्यक्ष पौडेलको भनाइ छ।

विद्युतीय सवारीको प्रयोगमार्फत वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्दै यात्रुलाई आधुनिक सुविधा दिने उद्देश्यसहित सुरु भएको ई–ड्राइभ लुम्बिनीको सेवाले कपिलवस्तुको यातायात क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

शुभयात्रा ई–मोबिलिटी प्रा.लि. कपिलवस्तुको आयोजनामा भएको सेवा शुभारम्भ कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता ई–ड्राइभ लुम्बिनीका अध्यक्ष मनोज पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा वाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेल तथा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी, संघ–संस्थाका प्रतिनिधि, इन्स्योरेन्स क्षेत्रका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकसहित सयौँको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र घिमिरेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सागर घिमिरेले गर्नुभएको थियो।