कपिलवस्तु । बाणगंगा नगरपालिका–बरहवास्थित एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा आयोजित निःशुल्क दन्त शिविरबाट ५१८ जना लाभान्वित भएका छन्।

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टल केयर सेन्टर प्रा.लि., बाणगंगा–४ चारनम्बरको संयुक्त आयोजनामा भएको शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय नागरिकले दन्त परीक्षण तथा उपचार सेवा लिएका हुन्।

समुदायमा दन्त तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै आर्थिक तथा अन्य कारणले समयमै दन्त परीक्षण र उपचार गराउन नसकेकालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

शिविरका क्रममा २०० जनाको दन्त एक्स–रे गरिएको थियो भने १६० जनाको दाँत निकालिएको आयोजकले जनाएको छ। सहभागीहरूको दाँत तथा मुखको स्वास्थ्य परीक्षण, दन्त रोगसम्बन्धी परामर्श, दाँत सफा गर्ने सही विधिबारे जानकारी तथा आवश्यकताअनुसार उपचारसमेत गरिएको थियो।

शिविरमा बालबालिकादेखि अभिभावक तथा स्थानीय नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयमै विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा पाएपछि विद्यार्थी तथा अभिभावकले कार्यक्रम प्रभावकारी र उपयोगी भएको बताएका थिए।

फेमिली डेन्टल केयर सेन्टरका सञ्चालक कृष्ण पोख्रेलले नियमित दन्त परीक्षण नगर्दा सामान्य देखिने समस्या पनि समयमै उपचार नपाउँदा जटिल बन्न सक्ने बताउनुभयो। उहाँले समय–समयमा दन्त चिकित्सकबाट परीक्षण गराउन आग्रह गर्दै विशेषगरी बालबालिकामा नियमित ब्रस गर्ने बानी र मुख स्वास्थ्यसम्बन्धी सचेतना सानैदेखि विकास गर्नुपर्नेमा जोड दिनुभयो।

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष कृष्ण भट्टराईले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले दन्त समस्या पहिचान र उपचारमा सहयोग पुर्‍याउनुका साथै समुदायमा मुख तथा दन्त स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।