कपिलवस्तु, साउन २१ गते। नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरीपैठारी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरका भन्सार छलीका मोटरपार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका अनुसार जिल्लाको कृष्णनगर नगरपालिका–३ चैपुरवा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइएका ९ लाख ८२ हजार ६७४ रुपैयाँ बराबरका विभिन्न मोटरपार्ट्स बरामद गरिएको हो।

सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी तथा प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति गोपाल अधिकारीले जानकारी दिनुभयो। बरामद गरिएका मोटरपार्ट्स आवश्यक कानुनी प्रक्रिया पूरा गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।

गणपति अधिकारीका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा नियमित गस्ती, चेकजाँच, निगरानी तथा सूचनाका आधारमा विशेष अपरेसन सञ्चालन भइरहेको छ। सीमा सुरक्षालाई थप सुदृढ बनाउने, भन्सार छली नियन्त्रण गर्ने तथा राजस्व संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले सीमा नाकामा विशेष अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।

यस्तै, सशस्त्र प्रहरी गुल्म कृष्णनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञमान साउदका अनुसार पछिल्लो दुई महिनामा कृष्णनगर नाका हुँदै भन्सार छली गरी ल्याइएका करिब १ करोड रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ।

बरामद गरिएका सामानमा मोटरपार्ट्स, इलेक्ट्रोनिक सामग्री, औषधि, लत्ताकपडा, कस्मेटिक सामग्री, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामान, खाद्यान्न तथा अन्य उपभोग्य वस्तु रहेका छन्।