कपिलवस्तु — बाणगंगा नगरपालिका–८ स्थित जलेश्वरधाम परिसरबाट लामो समयदेखि सेवा प्रवाह गर्दै आइरहेको बाणगंगा आयुर्वेद औषधालयको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ।

औषधालयको नयाँ भवन निर्माणका लागि बिहीबार बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्याल तथा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले संयुक्त रूपमा बाणगंगा–८, बालापुरमा शिलान्यास गरेका हुन्।

नयाँ भवन निर्माण सम्पन्न भएपछि आयुर्वेद औषधालयले आफ्नै सुविधासम्पन्न भवनबाट सर्वसाधारणलाई थप व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

निर्धारित समयमै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट औषधि उपचार तथा आयुर्वेद सेवा सञ्चालन गर्ने लक्ष्य रहेको सम्बन्धित पक्षले जनाएको छ।