कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड को आयोजना तथा श्रीनगर एग्रिटिच इन्डस्ट्रीज को प्राविधिक सहयोगमा सहकारी शिक्षा तथा पशु रोग सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

दुग्ध उत्पादनमा संलग्न कृषक तथा सहकारीका शेयर सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, पशुपालनमा देखिने विभिन्न रोगहरूको समयमै पहिचान, रोकथाम तथा उपचारका उपायबारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–८ का कार्यवाहक वडा अध्यक्ष विश्वास जी.सी. प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी श्रीनगर दाना उद्योग प्रदेश बिक्री कक्षका प्रमुख मिनराज न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो।

तालिममा बाणगंगा नगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक डा. यमलाल पोख्रेल ले प्रशिक्षण दिनुभएको थियो। उहाँले पशुमा देखिने प्रमुख संक्रामक तथा असंक्रामक रोग, रोगबाट बच्ने उपाय, समयमै खोप लगाउने आवश्यकता, पशुको पोषण व्यवस्थापन, गोठ सरसफाइ, सन्तुलित आहार, उत्पादन वृद्धि तथा पशु स्वास्थ्य व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक पशुपालन प्रविधिको प्रयोगले उत्पादन लागत घटाउँदै गुणस्तरीय दूध उत्पादन गर्न सकिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि विश्वास जी.सी. ले सहकारीमार्फत सञ्चालन हुने यस्ता व्यवहारिक तालिमले कृषकको ज्ञान, सीप र उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने बताउँदै स्थानीय सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि मिनराज न्यौपाने ले पशुपालन व्यवसायलाई व्यावसायिक र दिगो बनाउन गुणस्तरीय दाना, उचित पोषण तथा नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै कृषकलाई आधुनिक प्रविधि अपनाउन आग्रह गर्नुभयो।

तालिममा सहभागी कृषकहरूले आफूहरूले भोग्दै आएका पशु स्वास्थ्यसम्बन्धी समस्याबारे जिज्ञासा राखेका थिए भने प्रशिक्षकले व्यावहारिक समाधानका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो। सहभागीहरूले तालिम उपयोगी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।

कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य, पशुपालक कृषक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका सचिव सूर्यप्रसाद भण्डारीका अनुसार तालिमले सहकारीका सदस्यहरूलाई आधुनिक पशुपालन, रोग नियन्त्रण तथा उत्पादन वृद्धि सम्बन्धी ज्ञान प्रदान गरी दुग्ध उत्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।