कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कपिलवस्तुद्वारा २०८३ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रतिष्ठान लुम्बिनी प्रदेशका प्रवक्ता तथा कपिलवस्तु इन्चार्ज शिव खनाल, शारदा खनाल, आजीवन सदस्य लेखनाथ घिमिरे, कतार शाखाका कोषाध्यक्ष तथा आजीवन सदस्य गोकुल सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले नेपाली लोक तथा दोहोरी गीत कला र संस्कृतिको महत्वपूर्ण पहिचान भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले लोक संस्कृतिले समाजलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गर्दै नयाँ पुस्तालाई मौलिक कला र संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले लोक संस्कृतिको जगेर्ना, कलाकारको सम्मान तथा नेपाली मौलिकताको संरक्षणमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

प्रतिष्ठान कपिलवस्तुले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य, शुभेच्छुक, विज्ञापनदाता तथा उपस्थित महानुभावप्रति धन्यवाद व्यक्त गरेको छ।