कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सीमावर्ती वन क्षेत्रमा बाघको सक्रियता पुष्टि भएपछि सम्बन्धित निकायहरूले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सव डिभिजन वन कार्यालय मोतीपुर र गोरुसिङ्गेले संयुक्त रूपमा चेतावनी जारी गर्दै वन क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न अनुरोध गरेका हुन्।

गत वैशाख १७ गते बिहीबार बाणगंगास्थित फुलबारी सामुदायिक वन र खोजीपुर सामुदायिक वनको उत्तरी क्षेत्रमा बाघले एउटा बेउनी भैंसी र थोरे पाडी आक्रमण गरी खाएको घटना पुष्टि भएको छ। यस घटनाले वन क्षेत्र नजिकैका बस्तीमा त्रास फैलिएको छ भने मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम पनि देखिएको छ।

सव डिभिजन वन कार्यालय मोतीपुरका प्रमुख वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले बाघको उपस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गर्दै बिहान–साँझको समयमा विशेष सावधानी अपनाउन सुझाएका छन्। उनले वन क्षेत्रमा एक्लै नजान, अनावश्यक प्रवेश नगर्न र कुनै पनि जंगली जनावर देखिएमा तत्काल नजिकको वन कार्यालय वा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेका छन्।

त्यस्तै, सव डिभिजन वन कार्यालय गोरुसिङ्गेका प्रमुख वरिष्ठ वन अधिकृत मोतीराम पौडेलले पनि बाघको गतिविधिलाई सामान्य रूपमा नलिन आग्रह गर्दै समुदायस्तरमा सतर्कता बढाउनु नै प्रभावकारी उपाय भएको बताएका छन्। उनका अनुसार मानवीय गतिविधि बढेसँगै वन्यजन्तु बस्ती नजिक देखिन सक्ने भएकाले सबैले संयमित र सचेत व्यवहार अपनाउनु आवश्यक छ।

फूलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेषकान्त बेल्बासेले पनि स्थानीयलाई सजग रहन अपिल गरेका छन्। यस घटनाले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

वन कार्यालय, स्थानीय तह र समुदायबीच समन्वय गरी जोखिम व्यवस्थापन गर्न सकेमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिने जनाइएको छ। सम्बन्धित निकायहरूले सबैलाई सजग रहन र सुरक्षित अभ्यास अपनाउन पुनः आग्रह गरेका छन्।