काठमाण्डौ — हिजो बेलुकी कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा हावाहुरी, असिना र चट्याङसहित पानी परेको हो । मौसम पूर्वानुमानमहाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पूर्वका विभिन्न ठाउँमा पानी परेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत अरु प्रदेशका हिमाली भूभागका थोरै ठाउँ तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै केही दिन मौसम बदली हुने र पानी पर्ने सम्भावना छ ।

यसैबीच हिजो बेलुकीको वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । तुइनखोला लगायतका ठाउँमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो ।

अहिले निर्वाध रुपमा गाडी चलिरहेको चितवन प्रहरीले जनाएको छ ।