कपिलवस्तु — ४४औँ मगर एकता दिवसको अवसरमा मगर समुदायले कपिलवस्तु लगायत देशभर विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका छन्। जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत वडा नं. ४ बुङ्ची र वडा नं. ६ बनकसियामा विशेष कार्यक्रम सम्पन्न भएका छन्।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएको ऐतिहासिक दिनको स्मरण तथा नेपाल मगर संघ स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते मगर समुदायले यो दिवस मनाउँदै आएका छन्।

बनकसियामा आयोजित कार्यक्रममा मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानाका परिकार तथा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। सो अवसरमा क्षेत्रका विभिन्न जातजातिका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी, विशिष्ट अतिथि शितगंगा नगरपालिका का पूर्व उपमेयर टिका रेश्मी, वडा नं. ६ का वडाध्यक्ष करुण टण्डन लगायतले मगर दिवसलाई समुदायको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले मगर समुदायको भेषभूषा र संस्कृतिलाई पर्यटनसँग जोडेर आयआर्जनको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखे। साथै धर्म–संस्कृति संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

विशेषगरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिएको छ। जातीय मौलिकतालाई जीवन्त राख्ने उद्देश्यले सरकारले फागुन १५ गते सार्वजनिक बिदा दिनुपर्ने माग समेत समुदायले गरेको छ। नेपाल मगर संघका अनुसार देशका ४३ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका थिए।

मगर संघका अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिला घर्ती र गीता रानाले सञ्चालन गरेका थिए। कार्यक्रममा लोक तथा दोहोरी गायक–गायिका बसन्त लम्साल र सिता राना तथा डान्सर रिता थापाले सांगीतिक प्रस्तुति दिएका थिए।

वि.सं. २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशभरका मगर समुदायको सहभागितामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरिएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ।