विजयनगर।कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय पुँजी कोष (UN Capital Development Fund) को साझेदारीमा सञ्चालित Local Climate Adaptive Living (LoCAL) परियोजना अन्तर्गत योजना छनोटका लागि सम्भावित क्षेत्रहरूको स्थलगत अवलोकन गरिएको छ

गाउँपालिकाभित्र जलवायु परिवर्तनसँग अनुकूलन हुने विकास योजना पहिचान तथा छनोट गर्ने उद्देश्यले गरिएको जनाइएको छ । अवलोकन टाेलीमा परियोजनाका तर्फबाट अनु अधिकारी र प्रज्ञान जोशीको सहभागिता रहेको थियो ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, प्रशासन शाखा प्रमुख बोधराज भुसालको उपस्थिति रहेको थियो ।

स्थलगत अवलोकनका क्रममा स्थानीय आवश्यकता, जलवायु जोखिम तथा सम्भावित अनुकूलन उपायहरूबारे छलफल गरिएको थियो । LoCAL परियोजनामार्फत जलवायु अनुकूल विकासलाई संस्थागत गर्दै स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

उक्त परियोजनाबाट विजयनगर गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२/०८३ का लागि २ करोड ७२ लाख रुपियाँकाे बजेट विनियोजन गरिएको प्रशासन शाखा प्रमुख बाेधराज भुसालले जानकारी दिए । यस बजेट मार्फत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको जीवनस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।