कपिलवस्तु।

भक्ति, करुणा र सहयोगको संगमका रूपमा कपिलवस्तु युवा भजन समूहले क्यान्सर पीडितको उपचार सहयोगार्थ विशेष भजन कार्यक्रम आयोजना गर्ने भएको छ।

समूहले प्रत्येक शनिबार नियमित रूपमा गर्दै आएको भजन कार्यक्रम यसपटक विशेष कारणले भोलि मंगलबार साँझ ५:३० बजे बैरियामा आयोजना गर्न लागिएको हो।

बुद्धभूमि नगरपालिका–१ निवासी लक्ष्मी जी.सी. लामो समयदेखि क्यान्सरजस्तो गम्भीर रोगसँग साहसपूर्वक संघर्ष गर्दै आउनु भएको छ। उपचारको क्रममा निरन्तर बढ्दै गएको खर्चका कारण उहाँको आर्थिक अवस्था कमजोर बन्दै गएपछि, सानो भए पनि सहयोग संकलन गर्ने उद्देश्यले यो भजन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

आयोजकका अनुसार भजन केवल धार्मिक गीत मात्र नभई पीडामा परेका मनहरूलाई ढाढस दिने, आशा जगाउने र मानवता तथा करुणाको भावना अभिवृद्धि गर्ने माध्यम पनि हो। कार्यक्रममा सहभागी भई ईश्वरसँग लक्ष्मी जी.सी.को शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सक्दो सहयोग गर्न सबै श्रद्धालु दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरिएको छ।

कार्यक्रममा भजन, प्रार्थना तथा सहयोग संकलन गरिने जनाइएको छ।