वीरगन्ज ।

पर्साको वीरगन्ज महानगरपालिकामा रहेको अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडामा सोमबार बिहान छापा मारिएको हो । सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त छापा मारेको थियो ।

छापाका क्रममा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । कपडा बरामद गरेपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो ।

तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरीको एक वटा वानटन र एक वटा स्कार्पियो गाडीमा क्षति पुगेको छ । घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।